काठमाडौं, २२ असोज । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको दोहोरो प्रभावका कारण देशभरको मौसम बदली भएको छ। अधिकांश भूभागमा वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल बागमती, गण्डकी, कर्णाली र लुम्बिनीका अधिकांश क्षेत्रमा बदली हुनुका साथै केही स्थानमा चट्याङसहित वर्षा भइरहेको छ। कोशी र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा पनि मौसम बदली रहेको छ।
दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा हल्का वर्षा तथा असिनाको सम्भावना रहेको छ।
बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।














