काठमाडौँ, २० असोज । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मालाई पर्सा जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्दामा मंगलबार न्यायाधीश देवीकुमारी चौधरीको इजलासले शर्मालाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
शर्मा सनराइज बैंकको सीईओ हुँदा अञ्जली इन्टरनेशनलकी सञ्चालक निर्मला देवीले व्यवसाय विस्तारका लागि स्वीकृत भएको कर्जा उपलब्ध नगराएको आरोप लगाउँदै उनीसहित बैंकका चार जनाविरुद्ध मुद्दा दायर गरेकी थिइन्। मुद्दामा करिब ३ करोड ८९ लाख रुपैयाँ कर्जा स्वीकृत गर्ने प्रक्रिया अघि बढाइएको र जग्गा धितो राखिएको उल्लेख छ।
अदालतमा शर्माले आफूले जाहेरवालीलाई नचिनेको तथा कर्जा स्वीकृति वा धितोसम्बन्धी निर्णयमा आफ्नो संलग्नता नरहेको दाबी गरेका थिए। उनले आरोप अस्वीकार गरेका छन्।
तर, मिसिलमा संलग्न कागजात र प्रारम्भिक प्रमाणका आधारमा तत्कालै आरोपबाट उन्मुक्ति दिन सकिने अवस्था नरहेको अदालतले जनाएको छ। थप प्रमाण बुझ्दै जाने गरी हाललाई २ लाख रुपैयाँ धरौटी माग गरिएको हो। धरौटी नबुझाए थुनामा पठाउने आदेशसमेत अदालतले दिएको छ।














