रौतहट, २० असोज । प्रहरीले भन्सार छली गरी भारतबाट नेपाल ल्याइँदै गरेको १२ थान मोबाइलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटको बोर्डर एक्सन टिम र भन्सार सुरक्षा गार्डको संयुक्त टोलीले विशेष सूचनाका आधारमा गौर नगरपालिका–१ स्थित भन्सार कार्यालयको गेटअगाडि सोमबार चेकजाँच गर्दा मोबाइल बरामद गरेको हो।
प्रहरीका अनुसार यात्रुवाहक टाटा सुमोको छतमा राखिएको आलुको बोराभित्र लुकाएर ल्याइएका मोबाइलको अनुमानित मूल्य करिब २ लाख रुपैयाँ रहेको छ।
पक्राउ पर्नेमा भारतको सीतामढी जिल्ला, असोगी ग्राम–४ का ४१ वर्षीय अमरनाथ चौधरी रहेका छन्। उनलाई मोबाइलसहित आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।














