एजेन्सी । रुसले युक्रेनको राजधानी किभमा लगातार चौथो दिन ड्रोन आक्रमण गरेको छ। पछिल्लो हमला किभका प्रमुख पुललाई लक्षित गरिएको बताइएको छ।
आइतबार बिहान पिभ्निच्नी (उत्तरी) पुलमा भएको आक्रमणमा दुई जना घाइते भएका छन्। यसअघि पिभ्डेनी (दक्षिणी) पुलमा पनि पटक–पटक हमला भएको थियो। यी पुलहरूबाट दैनिक करिब ५ लाख सवारीसाधन आवतजावत गर्ने र रुसी सेनाले युक्रेनी सैनिकको आवागमनमा प्रयोग हुने भएकाले निशाना बनाएको दाबी गरेको छ।
युक्रेनी वायुसेनाका अनुसार शनिबार राति रुसले १३५ ड्रोन प्रहार गरेको थियो। तीमध्ये १२५ ड्रोनसहित अन्य हवाई आक्रमण विफल पारिएको युक्रेनको दाबी छ।
जर्मन चान्सलर फ्रेडरिक मर्जले युक्रेनलाई समर्थन जनाउँदै किभको अप्रत्याशित भ्रमण गरेकै बेला पछिल्लो आक्रमण भएको हो। रुसले युक्रेनले आफ्ना तेल रिफाइनरीमा आक्रमण बढाउने घोषणा गरेपछि त्यसको जवाफस्वरूप हमला तीव्र पारिएको जनाएको छ।














