काठमाडौ, १२ खसोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले सोमबार बिहान पुन : पक्राउ गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको साइबर ब्युरोले जनाएको छ ।
प्रहरीका अनुसार प्रसाईंले सामाजिक सञ्जालमार्फत सांसद खतिवडासँग सम्बन्धित अपमानजनक टिप्पणी गरेको आरोपमा उजुरी परेको थियो । उक्त विषयमा अनुसन्धान अघि बढाउन उनलाई पक्राउ गरिएको हो ।
सांसद खतिवडा जेनजी आन्दोलनमा ज्यान गुमाएका रसिक खतिवडाकी आमा हुन्।
प्रसाईंले सामाजिक सञ्जालमा रसिकको मृत्यु र उनकी आमाको सांसद पदसँग जोडेर टिप्पणी गरेको आरोप छ । सो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै खतिवडाले प्रतिनिधिसभाको बैठकमै भावुक हुँदै आफ्नो धारणा राखेकी थिइन् । प्रसाईंविरुद्ध परेको उजुरीमाथि साइबर ब्युरोले अनुसन्धान अघि बढाएको जनाएको छ ।
पक्राउपछि उनीमाथि लागेको आरोप र सामाजिक सञ्जालमा गरिएको भनिएको टिप्पणीबारे आवश्यक अनुसन्धान हुने प्रहरीले जनाएको छ । प्रसाईं यसअघि पनि विभिन्न घटनामा पक्राउ पर्दै आएका छन् ।
पछिल्लो पटक गत साउन १७ गते भक्तपुरस्थित निवासबाट पक्राउ परेका उनलाई अदालतको आदेशपछि साउन १८ गते रिहा गरिएको थियो । त्यसअघि पनि उनी विभिन्न आरोपमा प्रहरी नियन्त्रणमा परेका थिए ।
भदौ ४ गते प्रहरीले प्रसाईंको घरमा खानतलासी गरी केही विद्युतीय सामग्री नियन्त्रणमा लिएको थियो । पछिल्ला महिनाहरूमा उनीविरुद्ध विभिन्न विषयमा प्रहरी अनुसन्धान अघि बढ्दै आएको छ ।














