काठमाडौं, ९ असोज । लगातार वर्षाका कारण सम्भावित पहिरो, ढुंगा खस्ने तथा सडक अवरुद्ध हुने जोखिमलाई ध्यान दिँदै नागढुंगामा सवारीसाधन होल्ड गरिएको छ।
बिहीबार साँझ ८ बजेदेखि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुवाहक तथा मालवाहक सवारी, मोटरसाइकललगायत सबै प्रकारका सवारीसाधन नागढुंगामै रोकिएका छन्। नागढुंगा–नौबिसे सडक हुँदै धादिङ, चितवन, पोखरा, गोरखालगायत जिल्लातर्फ जाने यात्रु प्रभावित भएका छन्।
सडकको अवस्था र मौसममा सुधार आएपछि सुरक्षा निकायको समन्वयमा सवारीसाधनलाई क्रमशः गन्तव्यतर्फ पठाइने जनाइएको छ। यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ।














