काठमाडौं, ८ असोज। बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणाली आगामी २४ घण्टापछि क्रमशः कमजोर हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तर यसको प्रभावले नेपालका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाका अनुसार वर्षाका कारण बाढी, पहिरो, डुबान तथा गेग्रान बहावको जोखिम बढ्न सक्छ। नदी तथा खोलामा पानीको सतह बढ्नुका साथै सडक र हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन भनिएको छ।
असोज ९ गते कोशी, बागमती र गण्डकीका उच्च हिमाली जिल्लामा उच्च जोखिम रहने अनुमान गरिएको छ। ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, मनाङ र मुस्ताङलाई उच्च जोखिममा राखिएको छ।
त्यस्तै असोज १० गते कर्णाली र सुदूरपश्चिमका केही जिल्लामा जोखिम बढ्ने अनुमान छ। असोज ११ गते भने वर्षाको क्रम केही घट्ने सम्भावना रहेको जनाइएको छ।
मौसम प्रणाली कमजोर हुँदै गए पनि वर्षाको प्रभाव कायमै रहने भएकाले रातिको यात्रा नगर्न, बाढी–पहिरो सम्भावित क्षेत्रमा सावधानी अपनाउन तथा मौसमसम्बन्धी अद्यावधिक सूचना हेर्न महाशाखाले आग्रह गरेको छ।














