जनकपुर, ७ असोज। मधेश प्रदेश सरकारले प्रदेशका प्रहरी युनिटका लागि ३५ थान मोटरसाइकल उपलब्ध गराएको छ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई हिरो स्प्लेन्डर मोटरसाइकल हस्तान्तरण गरेको हो।
मन्त्री फकिरा महतोले शान्तिसुरक्षा, विपद् व्यवस्थापन तथा नागरिकसम्म प्रहरीको पहुँच सहज बनाउन मोटरसाइकल प्रदान गरिएको बताइन्। मधेशमा अपराध नियन्त्रणका लागि प्रहरीलाई आवश्यक साधनस्रोत उपलब्ध गराउने उद्देश्य रहेको उनको भनाइ छ।
मन्त्री महतोले मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीलाई मोटरसाइकलको चाबी र ब्लुबुक हस्तान्तरण गरिन्।
प्राप्त मोटरसाइकल आठवटै जिल्ला प्रहरी कार्यालयमार्फत आवश्यकता अनुसार विभिन्न प्रहरी युनिटमा पठाइनेछ।














