काठमाडौं, ५ असोज । त्रिपुरेश्वरमा बसमा भएको आगलागी घटनाको अनुसन्धान गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति गठन गरेको छ।
एसएसपी रमेश बस्नेतको नेतृत्वमा गठन गरिएको समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।
रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी हुँदा चालक काभ्रेका २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका छन्। उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।
आगलागीअघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको र त्यसपछि चालकले नै बसमा आगो लगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक आशंका छ। घटनाको वास्तविक कारण भने छानबिनपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ।














