जनकपुर, ४ असोज । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालयसहित सुरक्षा निकायको संयुक्त टोलीले छापा मारेको छ।
जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले गोदाममा छापा मार्दा चार ट्रक अवैध सामग्री बरामद गरेको हो ।
प्रारम्भिक अनुसन्धानअनुसार बरामद सामग्री भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको आशंका गरिएको छ। उक्त सामग्री स्थानीय व्यापारी शंकर साहको रहेको बताइएको छ।
गोदामबाट फर्सीको बीउ, विभिन्न किराना सामग्री तथा पटाका लगायतका सामान बरामद गरिएको छ। गोदाममा २ सयभन्दा बढी बोरा सामग्री रहेको प्रारम्भिक विवरण छ।
जनकपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मानबहादुर पौडेलका अनुसार बरामद सामग्रीको विस्तृत विवरण संकलन भइरहेको छ।














