काठमाडौं, ४ असोज । रसुवाको भोटेकोसी हुँदै आएको बाढीका कारण त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा पुरिएका २४ शव निकालेर नुवाकोट ल्याइएको छ।
आमाछोदिङ्गो गाउँपालिका–१ हाकुस्थित २१६ मेगावाटको आयोजनाको सुरुङबाट असोज १ र २ गते २४ शव निकालिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। ती शव नेपाली सेनाको हेलिकप्टरमार्फत विदुर नगरपालिका–६ स्थित खम्बाक्याम्पमा ल्याइएको हो।
प्रहरीले शव सनाखतका लागि मृतकका परिवार तथा आफन्तलाई खम्बाक्याम्प पुग्न आग्रह गरेको छ। पहिचान तथा समन्वयका लागि प्रहरी निरीक्षक आशिष साहलाई ९८५५०९१७५७ मा सम्पर्क गर्न सकिने जनाएको छ।














