एजेन्सी । फिफा विश्वकप २०२६ मा विजयी सुरुआत गरेका अर्जेन्टिना, फ्रान्स र नर्वे आज आफ्नो दोस्रो खेल खेल्दै नकआउट चरणमा स्थान सुरक्षित गर्ने लक्ष्यमा छन् ।
पहिलो खेलमा प्रभावशाली प्रदर्शन गरेका लियोनल मेसी, केलिएन एमबाप्पे र एर्लिङ हालान्डमाथि विश्व फुटबल समर्थकहरूको विशेष ध्यान केन्द्रित छ । साविक विजेता अर्जेन्टिनाले मेसीको ह्याट्रिकमा अल्जेरियालाई ३–० ले हराएको थियो ।
साविक उपविजेता फ्रान्सले एमबाप्पेको दुई गोलको मद्दतमा सेनेगललाई ३–१ ले पराजित गर्दा, २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेले हालान्डको दुई गोलमा इराकलाई ४–१ ले हराएको थियो ।
अर्जेन्टिनाले आज अस्ट्रियासँग, फ्रान्सले इराकसँग र नर्वेले सेनेगलसँग प्रतिस्पर्धा गर्दैछन् । लगातार दोस्रो जितले उनीहरूलाई नकआउट चरणको ढोका खोल्न सक्छ । ३८ वर्षीय मेसी विश्वकपमा नयाँ कीर्तिमान थप्ने अभियानमा छन् ।
अस्ट्रियाविरुद्ध गोल गर्न सके उनी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको कीर्तिमानमा पुग्नेछन् । यता एमबाप्पेले पहिलो खेलपछि आफ्नो विश्वकप गोल संख्या १४ पु¥याएका छन् भने हालान्डले विश्वकप डेब्यूमै दुई गोल गर्दै गोल्डेन बुटको दौडमा बलियो दाबेदारी प्रस्तुत गरेका छन् ।
तीन फरक पुस्ताका यी सुपरस्टारहरूको प्रदर्शनले विश्वकपको रोमाञ्च थप बढाएको छ, र समर्थकहरू दोस्रो खेलमा पनि उनीहरूको चम्किलो प्रदर्शनको प्रतीक्षामा छन् ।














