काठमाडौं, ४ आसार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले महाधिवेशनको कार्यतालिका स्वीकृत गर्दै निर्वाचनसम्बन्धी नियमावली र निर्देशिकालाई परिमार्जनसहित पारित गरेको हो ।
उक्त प्रस्तावहरू शुक्रबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने जनाइएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार केन्द्रीय समितिले कार्यसम्पादन समितिबाट पारित प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय गर्नेछ ।
बैठकले भदौ मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने तथा असोज मसान्तसम्म सक्रिय सदस्यता वितरणको काम टुंग्याउने प्रस्ताव पनि अघि सारेको छ ।














