सर्लाही, २४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी सर्लाहीको जिल्ला अधिवेशन आवश्यक प्रक्रियागत काम पूरा नभएका कारण अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
निर्वाचन समितिका अनुसार मतदाता नामावली, पालिका अधिवेशनसम्बन्धी कागजात तथा निर्वाचित प्रतिनिधिहरूको विवरण केन्द्रीय डिजिटल पोर्टलमा अद्यावधिक नभएकाले निर्वाचन प्रक्रिया अघि बढाउन नसकिएको हो । केही प्रक्रियागत तथा प्राविधिक त्रुटि समेत देखिएको समितिको भनाइ छ ।
जिल्ला निर्वाचन संयोजक डा. जयप्रकाश महतोले अर्को सूचना जारी नभएसम्म अधिवेशन स्थगित गरिएको जानकारी दिएका छन्। यद्यपि, जेठ २८ गते तय भएको प्रदेश अधिवेशनअघि नै जिल्ला अधिवेशन सम्पन्न गर्ने तयारी रहेको उनले बताए ।
यता वर्तमान जिल्ला सभापति तथा अध्यक्ष पदका उम्मेदवार सरोज बानियाँले डिजिटल पोर्टलमा विवरण अद्यावधिक गर्ने क्रममा प्रक्रियागत त्रुटि भएको दाबी गर्दै छानबिन र आवश्यक कारबाहीको माग गरेका छन् । अध्यक्ष पदका लागि बानियाँ र कृष्णनन्दन यादवलगायतले उम्मेदवारी घोषणा गरेका छन् ।














