सिरहा, २८ वैशाख । सिरहाको औरही नगरपालिका–३ मा वडाध्यक्ष जीवछ यादवले सडक अतिक्रमण हटाउने क्रममा एक स्थानीयलाई रुखमा बाँधेर अमानवीय व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ ।
स्थानीय विरेन्द्र साहले निजी जग्गा कब्जा गरेर सडक बनाइएको भन्दै विरोध गरेपछि उनको हात गम्छाले बाँधिएको आरोप लगाइएको हो । स्थानीयहरूले वडाध्यक्षमाथि दादागिरी र शक्ति दुरुपयोग गरेको आरोप लगाएका छन् ।
वडाध्यक्ष यादवले भने साहले लाठी लिएर आक्रमण गर्न खोजेपछि स्थानीय युवाहरूले नियन्त्रणका लागि हात बाँधेको बताएका छन् । घटनापछि सामाजिक सञ्जालमा विरोध चर्किएको छ भने कारबाहीको मागसमेत उठेको छ ।














