काठमाडौं, २८ वैशाख । टर्किस एयरलाइको इस्तानबुल–काठमाडौं उडान गर्ने टीके–७२६ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पाङ्ग्रामा आगलागी भएपछि उडान तथा अवतरण प्रभावित भएको छ ।
आगलागीपछि जहाज धावनमार्गमै रोकिँदा अन्तर्राष्ट्रिय र आन्तरिक उडान केही समय अवरुद्ध भएका हुन् ।
विमानस्थल कार्यालयका अनुसार दिल्लीबाट आएको एयर इन्डिया र सारजहाबाट आएको हिमालय एयरलायन्सका जहाज आकाशमै होल्डमा राखिएका थिए भने हिमालय एयरलाइन्सको ल्हासा उडान तथा माउन्टेन फ्लाइटहरू ढिलाइ भएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । जहाजमा रहेका ४ बालबालिकासहित २७७ यात्रुलाई इमर्जेन्सी ढोकाबाट सुरक्षित उद्धार गरिएको छ ।
उद्धारका क्रममा केही यात्रु सामान्य घाइते भएका छन् ।














