काठमाडौं, २६ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव र सीप नयाँ पुस्तासम्म हस्तान्तरण गर्न आवश्यक रहेको बताएका छन् ।
मनमोहन स्मृति प्रतिष्ठानद्वारा काठमाडौंमा आयोजित ज्येष्ठ नागरिक अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले ज्येष्ठ नागरिकलाई उत्पादनमूलक कार्य र नीति निर्माणमा सहभागी गराउनुपर्ने बताए ।
राष्ट्रपतिले नेपाल पनि बिस्तारै बुढ्यौली समाजतर्फ उन्मुख भइरहेको उल्लेख गर्दै ज्येष्ठ नागरिकको सम्मान, स्वास्थ्य सेवा र पारिवारिक संरक्षण सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा उनले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी लाई सरल, सादगी तथा उदारवादी वामपन्थी नेताका रूपमा स्मरण गरे । कांग्रेस र कम्युनिस्टबीच सहकार्य आवश्यक रहेको सोच मनमोहनमा रहेको उल्लेख गर्दै उनले बहुदलीय प्रजातन्त्र स्थापना र वृद्धभत्ता सुरु गर्ने कार्यमा मनमोहनको योगदान महत्वपूर्ण रहेको बताए ।
राष्ट्रपति पौडेलले भारतको स्वतन्त्रता आन्दोलनदेखि नेपालको प्रजातान्त्रिक आन्दोलनसम्म मनमोहन अधिकारीको योगदान उल्लेखनीय रहेको भन्दै श्रद्धाञ्जली व्यक्त गरे ।














