काठमाडौं, २४ वैशाख । इलामको पर्यटकीय क्षेत्र सन्दकपुरमा बेवारिसे अवस्थामा मानव कंकाल फेला परेका छन् ।
सन्दकपुर गाउँपालिका–२ माइमझुवास्थित तालपोखरी नजिकको जंगलमा बुधबार गाईगोरू चराउन गएका स्थानीयले कंकाल देखेपछि घटना सार्वजनिक भएको हो । सूचना पाएपछि बिहीबार प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो ।
प्रारम्भिक अवलोकनमा शव सडिसकेको अवस्थामा रहेको र टाउको तथा खुट्टामा मात्र केही मासु बाँकी रहेको प्रहरीले जनाए । स्थानीय यातायात व्यवसायी पप्पु शिवाका अनुसार शव अत्यन्तै सडेको अवस्थामा भेटिएको हो ।
घटनास्थलबाट नाम–थर उल्लेख भएको एनएमबी बैंकको चेकबुक पनि फेला परेको प्रहरीले जनाए । सो आधारमा मृतकको पहिचान खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिए । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ














