काठमाडौं, १७ वैशाख । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दिपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले राजीनामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएका छन् ।
राजीनामा कर्मचारीमार्फत पठाइएको हो भने प्रधानमन्त्रीका निजी सचिवमार्फत पनि जानकारी गराइएको बताइएको छ । शिक्षाध्यक्ष केसीले राजीनामा पठाइसकिएको पुष्टि गरेका छन् ।
तीनै पदाधिकारीले नयाँ सरकारलाई काम गर्न सहज बनाउन मार्गप्रशस्त गर्ने उद्देश्यले राजीनामा दिएको बताएका छन् । यसअघि राजनीतिक नियुक्ति, अध्यादेश तयारी र विश्वविद्यालयमा चलिरहेको विवादबीच पदाधिकारीहरूले राजीनामा दिने तयारी गरेको चर्चा हुँदै आएको थियो ।














