काठमाडौं, १६ बैशाख । नेपाली सेनाले विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण संकलन भइरहेको स्पष्ट पारेका छन् ।
नेपाली सेनाले बुधबार विज्ञप्ति जारी गर्दै यसलाई विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणसँग जोडिएको नियमित प्रक्रिया भएको जनाएको हो ।
जंगी अड्डाका अनुसार वर्षातको समयमा आउन सक्ने बाढी, पहिरो, डुबान र नदी कटानजस्ता सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै आवश्यक तथ्यांक अद्यावधिक गर्ने काम भइरहेको छ ।
सेनाले विभिन्न स्थानमा रहेका आफ्नो युनिटमार्फत सम्भावित जोखिम क्षेत्रहरूको नक्साङ्कन तथा उद्धार–राहत कार्य सहज बनाउन विवरण संकलन गरिएको स्पष्ट पारेको छ ।
यसैबीच, सुकुमवासी बस्तीको विवरण मागिएको विषयलाई लिएर सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा आएको चर्चा पछि सेनाले आफ्नो उद्देश्य विपद् तयारी र मानवीय क्षति न्यूनिकरणमा केन्द्रित रहेको दोहो¥याएको छ।














