धनुषा, १२ वैशाख। धनुषाको वीरेन्द्र बजार क्षेत्रमा भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ भने एक महिला घाइते भएकी छन्।
चितवनबाट पूर्वतर्फ गाईघाट जाँदै गरेको प्रदेश २–०३–००१ ख १०११ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०२–०१० प १२३७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक अतुल झाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
झा विराटनगरबाट लोकसेवा आयोगको परीक्षा दिएर जनकपुर फर्किने क्रममा रहेका थिए। उक्त मोटरसाइकलमा सवार एक महिला गम्भीर घाइते भएकी छन्।
उनको हाल जनकपुरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। मृतक झाको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।
दुर्घटनापछि स्थानीय तथा प्रहरीको सहयोगमा घाइतेलाई तत्काल अस्पताल पुर्याइएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














