काठमाडौ, ११ वैशाख । सुकुमवासी बस्ती खाली गराउने सरकारको निर्णयविरुद्ध थापाथली क्षेत्रमा प्रदर्शन चर्किएको छ ।
स्थानीय बासिन्दा र युवाहरू सरकारविरुद्ध नाराबाजी गर्दै सडकमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले ‘डोजर आतंक बन्द गर’, ‘सुकुमवासीको आवास अधिकार सुनिश्चित गर’ र निरंकुशता स्वीकार्य छैन जस्ता नाराहरू लगाइरहेका छन् ।
प्रदर्शनका क्रममा केही समूहले रास्वपा सभापति रवि लामिछानेलाई आफ्नो पूर्व अभिव्यक्ति सम्झाउँदै छाती थाप्न आउनुहोस् भन्दै आह्वान गरेका छन् । सरकारमा जानुअघि उनले सुकुमवासी बस्तीमा डोजर चलाए विरोधमा उत्रिने बताएका थिए ।
तर अहिले सोही पृष्ठभूमिमा सरकारको निर्णयप्रति असन्तुष्टि बढेको देखिन्छ । सरकारले थापाथली, शंखमूल, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती खाली गराउन बिहीबार साँझदेखि माइकिङ गरेको थियो । त्यसपछि शुक्रबार बिहानदेखि केही बासिन्दाले सामान सार्न थालेका छन् भने केहीले विरोध जारी राखेका छन् ।
राष्ट्रिय जेनजी नागरिक अभियानको अगुवाइमा प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीहरूले थापाथलीबाट माइतीघर मण्डलासम्म ¥याली निकाल्ने तयारीसमेत गरेका छन् । यसअघि वैशाख ९ गते प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर बस्ती खाली गराउने निर्देशन दिएका थिए।
त्यसअनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको नेतृत्वमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले बस्ती हटाउने निर्णय गरेको थियो । उक्त निर्णयपछि प्रहरीले काठमाडौंका चार स्थानमा रहेका सुकुमवासी बस्तीमा माइकिङ गरेको हो।
प्रशासनले पहिलो चरणमा ती क्षेत्रहरूमा डोजर प्रयोग गर्ने तयारी गरेको जनाएको छ । सरकारको निर्णयपछि केही बासिन्दाले स्वेच्छाले सामान सारिरहेका छन् भने केहीले भने बस्ती नछाड्ने अडान लिएका छन्। देशभर करिब १२ लाख भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोवासी रहेको अनुमान छ ।














