काठमाडौं, ८ वैशाख । डोटीमा सेती नदीमा नुहाउने क्रममा एक युवक बेपत्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दिपायल सिलगढी नगरपालिका–५ घोलतडास्थित सेती नदीमा नुहाउन गएका करिब २२ वर्षीय दिपक बोहरा हराएको हो । उनी बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका बासिन्दा रहेको प्रहरीले बताए ।
बोहरा दिपायल सिलगढी–५ मा रहेको क्याब दुनिला क्रसर कम्पनीमा कार्यरत थिए । उनको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी २१ जनाको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।












