काठमाडौं, ८ बैशाख । काठमाडौंमा प्रतिनिधिसभा नियमावलीको मस्यौदा आज सभामुखसमक्ष पेश गरिने भएको छ ।
तोकिएको समयावधि सकिन लागेकाले मस्यौदा समितिले अन्तिम सहमति जुटाएर दिउँसो ३ बजे बुझाउने तयारी गरेको हो । समिति सदस्य यज्ञमणि न्यौपानेका अनुसार आज १२ बजे बस्ने बैठकले बाँकी विषय टुंग्याउनेछ ।
गत चैत २३ मा गणेश पराजुलीको नेतृत्वमा समिति गठन गरिएको थियो । नयाँ नियमावलीले प्रतिनिधिसभा सञ्चालनलाई व्यवस्थित बनाउने, कानुन निर्माण प्रक्रिया प्रभावकारी बनाउने र कार्यपालिकालाई जवाफदेही बनाउने उद्देश्य राखेको छ ।
साथै विगतका संसदीय अभ्यास र अनुभवलाई समेट्दै बदलिँदो प्रणालीअनुसार नयाँ प्रावधानहरू समावेश गरिएको जनाइएको छ ।














