काठमाडौं, ६ बैशाख । नेपाली कांग्रेसभित्रको पछिल्लो नेतृत्व परिवर्तनपछि देउवा पक्ष आन्तरिक रणनीति निर्माणमा जुटेको छ ।
विशेष महाधिवेशनमार्फत गगनकुमार थापा नेतृत्वमा आएपछि निवर्तमान सभापति शेरबहादुर देउवा निकट समूह केही रक्षात्मक देखिएको छ । यही सन्दर्भमा उक्त समूहका नेताहरूले आगामी राजनीतिक दिशा तय गर्न छलफल तीव्र बनाएका छन् ।
नेता पूर्णबहादुर खड्काको सक्रियतामा विभिन्न चरणमा परामर्श भइरहेको छ । आइतबार देउवा पक्षका पूर्व केन्द्रीय सदस्यहरू काठमाडौंको धुम्बाराहीस्थित एक स्थानमा भेला भएर समसामयिक परिस्थिति र पार्टीभित्रको भूमिकाबारे छलफल गरेका छन् ।
यसअघि शनिबार खड्काको निवासमा बसेको बैठकले सर्वोच्च अदालतको निर्णयप्रति असन्तुष्टि जनाए पनि त्यसलाई स्वीकार गर्ने निष्कर्ष निकालेको थियो । आजको भेलामा पूर्णबहादुर खड्का, कृष्ण सिटौला, विमलेन्द्र निधि र प्रकाशमान सिंहलगायत शीर्ष नेताहरू सहभागी छन्। उनीहरूले पार्टीभित्र आगामी दिनमा कसरी प्रस्तुत हुने र आफ्नो भूमिका कसरी मजबुत बनाउने भन्ने विषयमा रणनीति तय गर्ने बताएका छन् ।














