सिरहा, ४ बैशाख । सिरहामा सार्वजनिक सवारीसाधनमा यात्रु सुरक्षालाई प्राथमिकता दिँदै सिसीटिभी क्यामेरा अनिवार्य गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले २० दिनभित्र सबै यात्रीवाहक सवारीसाधनमा सिसीटिभी जडान गर्न निर्देशन दिएको हो ।
यो व्यवस्था सिरहा सदरमुकाम, लहान र मिर्चैयालगायत क्षेत्रबाट सञ्चालन हुने छोटो तथा लामो दूरीका सवारीमा लागू हुनेछ । प्रशासनका अनुसार चोरी, दुव्र्यवहार तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न यस्तो निर्णय गरिएको हो ।
तोकिएको समयभित्र सिसीटिभी जडान भए नभएकोबारे यातायात व्यवस्था कार्यालय लहान र ट्राफिक प्रहरीले अनुगमन गर्नेछन् । नियम उल्लंघन गर्ने सवारीसाधनमाथि कारबाही गरिने चेतावनी दिइएको छ ।














