जनकपुर, २ वैशाख । मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व उत्साहपूर्वक मनाइँदैछ।
धनुषासहितका जिल्लामा मनाइने यस पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । प्रकृति, स्वास्थ्य र सामुदायिक एकतासँग जोडिएको यो पर्व मिथिलामा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले -सिरूवा- पर्वका रूपमा मनाउँछन् ।
यस दिन ज्येष्ठहरूले सानालाई टाउकोमा पानी राखेर आशीर्वाद दिने, घर–आँगन, पशुपक्षी र बोटबिरुवामा पानी जुराउने चलन छ। चुलोसमेत जुराइने भएकाले आगो बालिँदैन ।
इनार–कुवा सरसफाइ, शरीरमा हिलो दल्ने, बासी खाना खाने परम्परा पनि यस पर्वको विशेषता हो । तरुवा, बरी, दहीलगायत परिकार सेवन गरिन्छ ।
जुडशीतलले प्रकृतिसँग सामञ्जस्य, स्वास्थ्य संरक्षण र सामाजिक मेलमिलापको सन्देश दिने विश्वास गरिएको छ ।














