काठमाडौं, ३० चैत । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति अझै तय नभएको बताएको छ ।
भारतीय प्रधानमन्त्रीबाट निम्तो आइसके पनि भ्रमणको ठोस कार्यतालिका बनिनसकेको उनले जनाए । मोरिसस भ्रमण सकेर आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै खनालले भारतीय समकक्षीबाट बधाई सन्देशसँगै भ्रमणको निम्तो प्राप्त भएको जानकारी दिए ।
उनले हालै भारतका विदेशमन्त्रीसँग भएको संवादमा पनि यस विषयमा छलफल भएको जनाए । उनका अनुसार नेपाल सरकारले आफ्नो प्राथमिकता निर्धारण गरेपछि र दुवै देशका सम्बन्धित मन्त्रालयबीचको प्राविधिक तयारी पूरा भएपछि मात्रै उच्चस्तरीय भ्रमण अघि बढाइनेछ ।
नेपाल–भारतबीच ४० भन्दा बढी द्विपक्षीय संयन्त्र रहेको उल्लेख गर्दै खनालले केही संयन्त्र हाल निष्क्रिय अवस्थामा रहेको बताए । परराष्ट्रमन्त्री खनाल चैत २७ गते मोरिससमा आयोजित नवौं भारतीय महासागर सम्मेलनमा सहभागी हुन गएका थिए । सो क्रममा उनले भारतका विदेशमन्त्रीसँग साइडलाइन भेटवार्ता समेत गरेका थिए ।












