काठमाडा, २८ चैत । मनिष झा ले निजी क्षेत्रको पुँजी, उद्यमशीलता र लगानीलाई सुदृढ बनाउन सके मात्र देशको समग्र अर्थतन्त्र बलियो बन्ने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का सांसद झा शनिबार राजधानीमा आयोजित राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपाल को तेस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन् ।
सांसद झाले निजी क्षेत्रको विस्तारले रोजगारी सिर्जना, उत्पादन वृद्धि, नवप्रवर्तन र लगानी वातावरण सुधारमा प्रत्यक्ष प्रभाव पार्ने बताए ।
उनले नेपालमा उद्यमशीलता विकासका लागि नीति सुधार, लगानीमैत्री वातावरण र प्रशासनिक सहजता आवश्यक रहेकोमा जोड दिए।उदाहरणका रूपमा उनले विकसित देशहरूको तथ्यांक प्रस्तुत गर्दै निजी क्षेत्रको शक्ति कति महत्वपूर्ण हुन्छ भन्ने देखाए ।
उनका अनुसार सन् २०२६ सम्मको तथ्यांक हेर्दा संयुक्त राज्य अमेरिका को निजी क्षेत्रको अर्थतन्त्र नेपाली मुद्रामा करिब साढे ४६ हजार खर्ब बराबर रहेको छ भने चीन को निजी क्षेत्र करिब ३० हजार खर्ब बराबरको रहेको छ । उनले यस्ता उदाहरणहरूले स्पष्ट पार्ने बताए कि निजी क्षेत्र सुदृढ नभएसम्म दिगो आर्थिक विकास सम्भव छैन ।
अन्त्यमा उनले नेपालमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति, लगानी सुरक्षा, उद्यमीलाई सहुलियत तथा प्रशासनिक झन्झट घटाउने कदम चाल्न सरकारलाई सुझाव दिए। साथै, युवाहरूलाई उद्यमशीलतामा आकर्षित गर्न आवश्यक वातावरण निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।














