जनकपुरधाम, २५ चैत । धनुषाको मिथिला नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका साक्षर तथा निरक्षर जनसंख्याको यथार्थ अवस्था पत्ता लगाउने उद्देश्यले आजदेखि विस्तृत तथ्याङ्क सङ्कलन अभियान सुरु गरेको छ ।
नगरपालिकाले निकट भविष्यमा आफूलाई साक्षर नगरपालिका घोषणा गर्ने लक्ष्यसहित यो अभियान अघि बढाएको जनाएको छ । नगरपालिकाको शिक्षा शाखाका अनुसार साक्षरता मूल्याङ्कन निर्देशिका २०७० बमोजिम निर्धारण गरिएका १२ सूचकमध्ये प्राथमिक
रूपमा छवटा मुख्य सूचकमा केन्द्रित भई तथ्याङ्क सङ्कलन कार्य सञ्चालन भइरहेको छ । शिक्षा शाखा प्रमुख सीता काफ्लेले अभियानलाई प्रभावकारी बनाउन विशेष तयारी गरिएको बताइन् ।
उनका अनुसार तथ्याङ्क सङ्कलन कार्यका लागि २५ जना जनशक्तिलाई आवश्यक तालिम प्रदान गरिएको छ । यस कार्यलाई सफल बनाउन सबै वडा कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालयसँग समन्वय गर्न आग्रह गरिएको छ ।
स्थानीय तह, विद्यालय र समुदायबीच सहकार्यमार्फत अभियानलाई व्यापक बनाउने लक्ष्य लिइएको छ । नगरपालिकाले यस अभियानमार्फत वास्तविक साक्षरता अवस्था पहिचान गरी आवश्यक कार्यक्रम सञ्चालन गर्ने, निरक्षरता न्यूनीकरण गर्ने र शिक्षामा
सबैको पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।स्थानीय तहमा साक्षरता अभिवृद्धि गर्दै समग्र मानव विकासमा टेवा पुयाउने अपेक्षा गरिएको छ ।














