जनकपुर, २४ चैत। महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डअन्तर्गत एकडारा–५ बथनाहामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा आगलागी भई तीन जना विद्यार्थीको जलेर मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार दुर्घटनापछि मोटरसाइकलमा लागेको आगोका कारण घटनास्थलमै तीन जनाको मृत्यु भएको हो। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर र एक जनाको अवस्था मध्यम रहेको छ। उनीहरूको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
मोटरसाइकल पूर्ण रूपमा जलेका कारण मृतक तथा घाइतेको पहिचान खुल्न सकेको छैन। प्रारम्भिक अनुसन्धानअनुसार उनीहरू एसईई परीक्षा दिएर फर्किरहेका विद्यार्थी रहेको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














