काठमाडौं, २३ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नर्स, निजी विद्यालयका शिक्षक तथा अन्य श्रमिकलाई न्यूनतम पारिश्रमिक नदिने रोजगारदातामाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
मन्त्रालयले तालिमीका नाममा भइरहेको श्रम शोषणप्रति ध्यानाकर्षण जनाउँदै श्रम ऐन २०७४ को पूर्ण पालना गर्न निर्देशन दिएको हो ।
ऐनअनुसार तालिममा काम गर्ने व्यक्तिले पनि न्यूनतम तलब, बिदा, उपदान, सञ्चय कोष र बीमा जस्ता सुविधा अनिवार्य पाउनुपर्ने व्यवस्था छ ।
मन्त्रालयका अनुसार हाल नर्स र शिक्षकबाट न्यूनतम पारिश्रमिक नपाएको उजुरी बढ्दो छ । यस्तो उल्लंघनमा जरिवाना र दोहोरिएमा कैद सजायसम्म हुने कानुनी व्यवस्था रहेको भन्दै सरकारले कडाइका साथ अनुगमन गर्ने जनाएको छ ।














