काठमाडौं, १८ चैत । डिजिटल हिंसाको सिकार बनेकी अमिसा पराजुलीले साइबर ब्यूरोमा औपचारिक उजुरी दिएकी छन् ।
साइबर ब्यूरोका प्रवक्ता दिलिप गिरीका अनुसार, पराजुलीले बुधबार उजुरी दर्ता गराएकी हुन् । पराजुलीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध भएको प्रदर्शनमा दिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा आफूमाथि गालीगलौच, अश्लील टिप्पणी तथा गम्भीर प्रकृतिका धम्कीहरू आउन थालेको बताएकी छन् ।
उनले आफूलाई बलात्कारसम्म गर्ने धम्कीसमेत प्राप्त भएको उल्लेख गरेकी छन् । यस्ता आपत्तिजनक टिप्पणी र सन्देशहरू प्रमाणका रूपमा संकलन गरेपछि उनले सम्बन्धित व्यक्तिहरूमाथि कानुनी कारबाहीको माग गर्दै साइबर ब्यूरोमा उजुरी दर्ता गराएकी हुन् ।














