काठमाडौं, १७ चैत । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी -सीडीओ- छवि रिजाल पक्राउ परेका छन् ।
अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा दमन गरेको आरोप छ ।
सो घटनाको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले उनलाई कारबाही सिफारिस गरेको थियो । आयोगकै सिफारिसका आधारमा यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक समेत पक्राउ परिसकेका छन् ।
रिजालले भने आन्दोलनका क्रममा घुँडाभन्दा तल लक्षित रबरको गोली चलाउन मात्र मौखिक निर्देशन दिएको र सिधै गोली चलाउने आदेश नदिएको बताएका छन् ।
उनीमाथि गृह मन्त्रालयमा कार्यरत रहँदा कर्मचारी सरुवा तथा पदस्थापनामा अनियमितता गरेको आरोपसहित भ्रष्टाचार सम्बन्धी अनुसन्धान पनि भइरहेको छ ।














