जनकपुर, १६ चैत । जनकपुरमा बढ्दो फुटपाथ अतिक्रमण नियन्त्रण गर्न प्रदेश सरकार सक्रिय बनेको छ ।
गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको नेतृत्वमा गंगासागर क्षेत्र आसपास फैलिएको अवैध फुटपाथ बजार हटाउने अभियान तीव्र पारिएको हो ।
सरकारी टोलीले जेसिबीको प्रयोग गरी सडक र फुटपाथ अतिक्रमण गरेर बनाइएका अस्थायी टहरा तथा पसलहरू हटाएको छ । लामो समयदेखि अव्यवस्थित रूपमा सञ्चालन हुँदै आएका ती संरचनाले यातायातमा अवरोध पु¥याउनुका साथै सहरको सौन्दर्यमा पनि असर पार्दै आएका थिए ।
अभियानपछि गंगासागर आसपासको क्षेत्र पूर्ण रूपमा अतिक्रमणमुक्त बनेको छ । अहिले उक्त क्षेत्र खुला, व्यवस्थित र सफा देखिन थालेको छ, जसले स्थानीय बासिन्दा र यात्रुहरूलाई सहजता प्रदान गरेको छ ।
मन्त्री महतोले सार्वजनिक स्थानको संरक्षण र व्यवस्थित सहरी व्यवस्थापनका लागि यस्तो अभियान निरन्तर सञ्चालन गरिने बताए । उनका अनुसार अब जनकपुरको व्यस्त पेठिया बजार क्षेत्रमा फैलिएको फुटपाथ अतिक्रमण हटाउने तयारी भइरहेको छ ।
प्रदेश सरकारले आगामी दिनमा सहरलाई व्यवस्थित, सफा र सुन्दर बनाउन थप कडाइका साथ अनुगमन तथा नियन्त्रण अभियान अघि बढाउने जनाएको छ ।














