जनकपुर, १६ चैत । आज नेपाल पत्रकार महासङ्घ को ७१औँ स्थापना दिवसका अवसरमा देशभर प्रभातफेरी कार्यक्रम आयोजना गरिँदैछ ।
सोही अवसरमा महासङ्घको धनुषा शाखाले पनि विशेष कार्यक्रम गर्ने तयारी गरेको छ । महासङ्घ धनुषा शाखाका अध्यक्ष पुरण साहले जारी गरेको सूचनामा स्थापना दिवसलाई भव्य र उत्साहपूर्ण रूपमा मनाउन सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गरिएको छ ।
कार्यक्रमअन्तर्गत बिहान प्रभातफेरी निकालिनेछ, जसले पत्रकारिता पेशाको गरिमा, अभिव्यक्ति स्वतन्त्रता तथा सञ्चारकर्मीहरूको एकता र अधिकारप्रति जनचेतना अभिवृद्धि गर्ने बताएको छ ।
अध्यक्ष साहका अनुसार प्रभातफेरीमा सहभागी हुन सबैलाई बिहान ६:३० बजे महासङ्घको कार्यालयमा भेला हुन अनुरोध गरिएको छ ।














