जनकपुर, ९ चैत । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो पुनः सडकमा उत्रिएर जनकपुरको मुख्य धार्मिक तथा पर्यटकीय क्षेत्र जानकी मन्दिर आसपासको व्यवस्थापनमा सक्रिय देखिएका छन् ।
मन्त्री महतोले आज जानकी मन्दिर वरिपरि फुटपाथ अतिक्रमण गरेर सञ्चालनमा रहेका पसलहरू हटाउन प्रत्यक्ष अनुगमन गर्दै व्यवसायीलाई फुटपाथ खाली गर्न निर्देशन दिएका छन् ।
पैदलयात्रीको सहज आवागमन र धार्मिक क्षेत्रको सौन्दर्य कायम राख्न यस्तो अभियान सुरु गरिएको उनले बताए । त्यसैगरी, मन्दिर आसपासका सडकमा लागू गरिएको वन वे ट्राफिक नियमको कडाइका साथ पालना गराउन उनले रिक्सा चालकहरूलाई विपरीत दिशामा नचल्न आग्रह गरेका छन् ।
ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन र भीडभाड कम गर्न यस्तो पहल गरिएको जनाइएको छ । पछिल्ला केही दिनदेखि मन्त्री महतो आफैं नेतृत्वमा सडकमा खटिँदै फुटपाथ व्यवस्थापन र ट्राफिक सुधारमा सक्रिय छन् ।
अभियानमा स्थानीय व्यापार संघका प्रतिनिधि, नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा नगरपालिकाका नगर प्रहरीहरूको संयुक्त टोली सहभागी रहेको छ ।














