काठमाडौं, १६ मंसिर । भारतको उत्तर प्रदेशस्थित बलरामपुर जिल्लामा नेपाली यात्रु सवार बस दु दुर्घटनामा परेको छ ।
मंगलबार बिहान करिब २ः३० बजे कोतवाली देहात थाना अन्तर्गत फुलबरिया सडकखण्डमा बस र ट्रक आपसमा ठोक्किएपछि बसमा आगलागी भएको हो ।
यूपी २२ एटी ०२४५ नम्बरको बस र यूपी २१ डीटी ५२३७ नम्बरको ट्रक एक–अर्कामा ठोक्किएपछि बस करिब १०० मिटर घिस्रिँदै हाइटेन्सन लाइनको बिजुलीका खम्बामा ठोक्किएको भारतीय मिडियाले उल्लेख गरेको छ ।
खम्बा भाँचिएर बसमाथि खस्दा करेन्ट सर्ट भएर आगलागी भएको बताइए । दुर्घटनामा परेर ३ जनाको मृत्यु पुष्टि भएको छ भने २४ जना घाइते भएका छन् । तीमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइए ।
मृतक तथा घाइतेहरूको पहिचान अहिलेसम्म खुलाइएको छैन । बस सुनौली नाकाबाट दिल्लीतर्फ जाँदै थियो । बसमा ४५ जना यात्रु सवार थिए, जसमा धेरैजना नेपाली रहेको दैनिक भाष्करले उल्लेख गरेको छ ।














