काठमाडौं, १७ कात्तिक । उत्तरी अफगानिस्तानमा सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा कम्तीमा २० जनाको मृत्यु भएका छन् ।
स्थानीय अधिकारीहरूले घाइतेहरूको संख्या बढ्दै गएको र मृतक संख्या अझै बढ्ने आशंका रहेको जनाएको छ । तालिबान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता सराफत जमान अमरका अनुसार २० जनाभन्दा बढीको ज्यान गएको र ३२० जनाभन्दा बढी घाइते भएका छन् ।
भूकम्प सोमबार बिहान स्थानीय समयअनुसार करिब १ बजे गएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षण (ग्क्न्क्) का अनुसार यसको तीव्रता ६.३ म्याग्निच्युड र गहिराइ २८ किलोमिटर रहेको थियो ।
प्रभावित क्षेत्रमा करिब पाँच लाख मानिस बसोबास गर्छन् । तालिबानका प्रवक्ता हाजी जैदले बाल्ख प्रान्तको सोलगरा जिल्लामा सर्वाधिक क्षति भएको बताउँदै धेरैजना भवन भत्किँदा घाइते भएका जानकारी दिए ।
हाल प्रभावित क्षेत्रहरूमा उद्धार तथा राहत कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन् ।














