काठमाडौं, १४ कात्तिक । सर्वोच्च अदालतले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि तोकिएको स्थानहदविरुद्ध दायर रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेका छन् ।
न्यायाधीश नृपध्वज निरौलाको इजलासले अन्तरिम आदेश दिन नमिल्ने ठहर गर्दै सरकार र जाँचबुझ आयोगलाई स्थानहद तोक्नुको कारण स्पष्ट पार्न आदेश दिएको हो ।
अधिवक्ता डा. प्रेमराज सिलवालले ओली र लेखकलाई सरकारको अनुमतिविना काठमाडौं उपत्यका बाहिर जान नपाउने निर्णय कानुनविपरीत भएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
जेन–जी आन्दोलनका क्रममा भएको दमन र त्यसपछिको आगजनी घटनाको छानबिन गर्न गठित आयोगको सिफारिसमा सरकारले ओली, लेखक र तत्कालीन काठमाडौं प्रमुख जिल्ला अधिकारी छविराज रिजाललाई उपत्यका बाहिर जान रोक लगाउने निर्णय गरेको थियो ।
त्यस्तै, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीमाथि पनि सोही प्रकारको निर्णय गरिएको भए पनि सरकारी कामकाजका कारण उनको स्थानहद फुकुवा गरिएको थियो ।














