एजेन्सी । भारतको हिमाञ्चल प्रदेशको राजधानी सिमलामा हिजो भएको गाडी दुर्घटनामा एकैघरका तीनसहित चारजना नेपालीको मृत्यु भएको छ ।
सल्यानको कुमाख गाउँपालिका– ४ बाट रोजगारीको लागि हिमाञ्चल पुगेका उनीहरूको सोमबार भएको सवारी दुर्घटनामा मृत्यु भएको माओवादी केन्द्रका नेता रमेश मल्लले जानकारी दिए ।
हिमाञ्चल प्रदेशको कोटखाई नजिक कुड्डु नालाको गाडी दुर्घटना हुँदा सल्यानको कुमाख– ४ निवासी ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्टको मृत्यु भएको हो ।
दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउने लक्ष्मी नवराजकी पत्नी हुन् । नवराज र हिमबहादुर गाडीको ढाला पछाडि बसेकाले फाल हानेर जोगाएका छन् ।
ज्यान गुमाउने लक्ष्मी डिल्लीबहादुरकी माइला दाइकी बुहारी हुन् भने एकेन्द्र डिल्लीबहादुरका जेठा दाइका छोरा हुन् । घाइतेको स्थानीय सरकारी अस्पतालमा उपचार भइरहेको छ ।
यो दुर्घटनामा गाडी चालक भारतीय नागरिकको पनि मृत्यु भएको छ ।














