काठमाडौं, ३० भदौ । विराटनगरमा भाटभटेनी सुपर मार्केटको स्टोरमा पनि एक जनाको शव फेला परेका छन् ।
जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको विराटनगर महानगरपालिका–६ स्थित भाटभटेनी सुपर मार्केटमा सोमबार जलेको अवस्थामा शव फेला पएको हो ।
मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले सोमबार दिउँसो दोस्रो तल्लामा जलेको अवस्थामा शव फेला परेको बतााएको छ । जेनजी आन्दोलनकारीका नाममा अराजक समूहले गत भदौ २४ गते आगजनी गरेर भाटभटेनी ध्वस्त पारेको थियो ।
भाटभटेनी सरसफाइ गर्ने क्रममा कर्मचारीले शव फेला पारेका हुन् । जलेको अवस्थामा भएका कारण पहिचान खुलेको छैन । शुक्रबार भाटभटेनीको धरान शाखामा ४ जनाको शव फेला परेको थियो ।
गत मंगलबार कोशी प्रदेशमा रहेको पाँच मध्ये चार वटा स्टोरमा आगजनी भएको थियो ।
विराटनगर, धरान, दमक र बिर्तामोडमा रहेका भाटभटेनीका शाखामा आगजनी र लुटपाट भएको थियो । इटहरीको शाखा स्थानीयले जोगाएका थिए ।














