काठमाडौं, १६ भदौ । दार्चुलाको नौगाड खोलामा अटो खस्दा एक जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् ।
नौगाड गाउँपालिका–५ स्थित सौकेबगर नजिकै सोमबार साढे १ बजेको समयमा म १ ह ११४८ नम्बरको अटो नौगाड खोलामा खसेको दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले बताएको छ ।
रावतका अनुसार मृत्यु हुनेमा पहिचान खुल्न नसकेकी करिब ११ वर्षकी बालिका रहेकी छन् । अन्य दुई जना महिला भने बेपत्ता छन् । बेपत्ता दुई जनाको खोजी कार्य जारी छ ।
रावतले भने, ‘अटोमा चालकसहित ५ जना सवार थिए । ५ जना मध्ये चालक मणिराज भुल र उनका छोरा आयुष भुल सकुशल छन् । आयुषको हात भाँचिएको छ ।’
होपरी गाडबाट गोकुलेश्वर तर्फ आइरहेको अटो अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल खोलामा खसेको उनले जनाए । चालक मणिराजलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।














