काठमाडौं, १६ भदौ । आइतबार राति अफगानिस्तानमा आएको ६.३ म्याग्निच्युडको भूकम्पले ठूलो जनधनको क्षति पु¥याएका छन् ।
प्रारम्भिक विवरणअनुसार कम्तीमा २५० जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएको छ । घाइतेहरूलाई नंगरहार र कुनार प्रान्तका विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताए ।
नेशनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) का अनुसार भूकम्प भारतीय समयअनुसार आइतबार राति १२ः४७ बजे जलालाबाद नजिकै गएको हो । यसको केन्द्र जमिनको सतहबाट करिब १६० किलोमिटर तल रहेको जनाएको छ ।
भूकम्पका झट्का पाकिस्तानको इस्लामाबाद र एबटाबादसम्म महसुस गरिएको थियो । पहिलो ठूलो धक्कापछि ४.७, ४.३ र ५.० म्याग्निच्युडका परकम्प पनि महसुस भएका छन् । प्रभावित क्षेत्र दुर्गम र कठिन भूभाग भएकाले उद्धार कार्यमा चुनौती थपिएको छ ।
त्यहाँका अधिकांश घरहरू भूकम्प प्रतिरोधी नभएकाले मृतक र घाइतेको संख्या अझै बढ्ने अनुमान गरिएको छ । तालिबान सरकारले अन्तर्राष्ट्रिय सहायता संस्थाहरुलाई उद्धार र राहत कार्यमा सहयोग गर्न आग्रह गरेको छ ।
सरकारी प्रवक्ता जबीहुल्लाह मुजाहिदले सामाजिक सञ्जालमार्फत भूकम्पले पूर्वी प्रान्तहरूमा ठूलो क्षति पु¥याएको बताए पनि विस्तृत विवरण अझै सार्वजनिक गरिएको छैन । अफगानिस्तानमा अघिल्लो वर्ष अक्टोबरमा पनि ठूलो भूकम्प गएको थियो, जसमा करिब ४ हजार मानिसले ज्यान गुमाएका थिए ।
संयुक्त राष्ट्रसंघका तथ्यांकअनुसार सो समयमा कम्तीमा १ हजार ५०० जनाको मृत्यु पुष्टि भएको थियो ।














