काठमाडौं, ६ भदौ । इजरायली सेनाको गोप्य सैन्य गुप्तचर डाटावेशमा आधारित तथ्याङ्कले गाजामा आक्रमणबाट मारिएका छ मध्ये पाँच जना सर्वसाधारण रहेको सार्वजनिक गरेका छन् ।
युद्ध सुरु भएको १९ महिनापछि, गत मे महिनासम्म इजरायली गुप्तचर अधिकारीहरूले हमास र प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे) सहितका ८ हजार ९०० लडाकु मारिएका वा मारिएका हुनसक्ने भन्दै तथ्याङ्क संकलन गरेको थियो । द गार्डियन र अन्य केही सञ्चार माध्यमहरूको संयुक्त अनुसन्धानले यो तथ्य उजागर गरेको छ ।
यही समयमा गाजास्थित स्वास्थ्य अधिकारीहरूको अनुसार, इजरायली आक्रमणबाट कुल ५३ हजार प्यालेस्टिनी मारिएका छन्, जसमा लडाकु र नागरिक दुवै पर्छन् । सैन्य गुप्तचर डाटाबेसमा नामसहित सूचीकृत लडाकुहरू कुल मृतकको मात्र १७ प्रतिशत रहेका थिए।
यसको अर्थ, ८३ प्रतिशत मृतकहरू सर्वसाधारण नागरिक हो ्। मृतकमध्ये नागरिकको यो अनुपात आधुनिक युद्धका हिसाबले अत्यधिक हो । सिरीया र सुडानका गृहयुद्ध जस्ता अन्धाधुन्ध हत्या भएका संघर्षहरूसँग तुलना गर्दा पनि यो अनुपात असामान्य देखिन्छ ।
यूसीडीपी का तथ्यांकअनुसार सन् १९८९ पछि विश्वभरका युद्धहरूमा नागरिक मृत्युदर यसभन्दा बढी भएको अवस्था केवल स्रेबरनिका (समग्र बोस्निया युद्धमा होइन), रुवाण्डा नरसंहार र सन् २०२२ मा रूसले मारीउपोललाई घेराबन्दी गर्दा मात्र देखिएको थियो ।
यो तथ्याङ्कलाई अनुसन्धान गरिरहेका सञ्चार माध्यमको प्रश्नमा इजरायली सेनाले उक्त डाटाबेसको अस्तित्व वा हमास र पीआईजेका मृत्युसम्बन्धी तथ्यांकलाई अस्वीकार गरेन। तर द गार्डियन ले सोध्दा भने उनीहरूले आफ्नो प्रतिक्रिया ‘पुनरावलोकन गर्नुपर्ने’ निर्णय गरेको जवाफ दिए ।














