काठमाडौं, २ भदौ । काठमाडौंमा आज बिहान मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु र तीन जनाको घाइते भएका छन् ।
प्रहरी प्रभाग बूढानीलकण्ठका अनुसार आइतबार बिहान करिब १ः४७ बजे गोल्फुटारतर्फ जाँदै गरेको प्रदेश ३–०२–००२ प ५७२ नम्बरको सुजुकी जिक्सर मोटरसाइकल र बूढानीलकण्ठतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४१ प ६८१९ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा गोरखा आरुपोखरी घर भई हाल बूढानीलकण्ठ–८ बस्ने २४ वर्षीय एरिक परियार घाइते भएका छन् । उनको निधार र खुट्टामा चोट लागेको र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, करिब २८–३० वर्षका एक पुरुषको हात र टाउकोमा चोट लागेको छ भने करिब ३०–३२ वर्षका अर्का युवकको टाउकोमा चोट लागेको छ । दुबै जनाको अवस्था गम्भीर छ र उनीहरूको समेत त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले बताए ।
तर दुर्घटनामा गम्भीर घाइते भएका सिराहा जन्दह–४ घर भएका २९ वर्षीय भोला थापालाई सोही अस्पतालमा उपचारको क्रममा चिकित्सकले २:१५ बजे मृत घोषणा गरेको छ ।
त्यस्तै, करिब ३५ वर्षका अझै नाम, थर र ठेगाना नखुलेका एक पुरुषलाई समेत सोही समयमा मृत घोषणा गरिएको प्रहरीले जनाए । दुर्घटनापछि दुबै सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ भने मृतक र घाइतेका आफन्तको खोजी भइरहेको प्रहरीले जनाए ।














