काठमाडौं, २३ साउन । काभ्रेमा वितेको राति गाडी दुर्घटना हुँदा वडा अध्यक्षसहित ५ जना घाइते भएका छन् ।
घाइतेमध्ये चारजना सामान्य उपचारपछि डिस्चार्ज भएको छ । दुर्घटनामा परेका चौरीदेउराली गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष किशोरराज गिरीको देब्रे खुट्टा फ्याक्चर भएकाले उपचार जारी छ ।
उनको ट्रमा सेन्टर काठमाडौंमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी मिन घलेले बताए ।
यस्तै बोलेरोमा सवार काभ्रे चौरीदेउराली गाउँपालिका ६ का पदम कुमार दुलाल, डिल्ली प्रसाद गौतम, हाटुज राज गिरी र तेज बहादुर पन्थ उपचारपछि डिस्चार्ज भएको छ ।
राति १० बजेतिर भुम्लु गाउँपालिका ८ पौवास्थित उकालोमा चौरीदेउरालीबाट काठमाडौं आउँदै गरेको बा १५ च ८५६३ नम्बरको बोलेरो जिप ब्रेक फेल भएर माटोको ढिस्कोमा ठोक्किएको थियो । दुर्घटनाग्रस्त गाडीका चालक पाँचखाल नगरपालिका ५ का युनिस गौतम सकुशल छन् ।














