काठमाडौं, १६ साउन । सिन्धुलीमा एक रुखको ढल्दा दुई जनाको मृत्यु र तीनजना घाइते भएका छन् ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा रुख ढल्दा दुई जना मृत्यु र तीनजना घाइते भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार शुक्रबार दिउँसो ३ः३० बजे झरीका कारण ओत लाग्न बसेको टौवामा सालको ठूलो रुख ढलेर किचेको थियो ।
रुख खस्दा पाँचजना बालबालिका टहरामा ओत लागिरहेका थिए । पानी परिरहेको अवस्थामा ओत लाग्न नजिकैको टौवामा बसेको बेला पहिरो र पानीका कारण सालको रुख ढल्दा टहरोमाथि खस्न पुग्यो ।
त्यसले ओत लागिरहेका ९ वर्षीय सार्की थिङ र १६ वर्षीया सन्ता गोलेलाई किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बताएको छ । त्यसैगरी १४ वर्षीया सिर्जना माया, १५ वर्षीया सन्ध्या भोलन र ७ वर्षीय सुशील थिङ घाइते भएका छन् ।
घाइतेमध्ये अवस्था गम्भीर भएकाले सिर्जना र सन्ध्यालाई थप उपचारका लागि हेटौडामा लगेको छ भने सुशील थिङको उपचार पाँचपाण्डव पोलिक्लिनिक, झुरझुरेमा भईरहेको छ ।














