काठमाडौँ, १३ साउन । डोल्पाको ठुलोभेरी नगरपालिका–३ स्थित धुपीचौरमा भेरी नदीको बीच भागमा फसेका चार जनालाई सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म डोल्पाले सकुशल उद्वार गरेको छ ।
उद्वार गरिएका व्यक्तिहरूमा त्रिपुरा सुन्दरी नगरपालिका–६ पालुङका ३३ वर्षका ललित बोहरा, २६ वर्षका नन्द प्रसाद बोहरा, ३५ वर्षका लाल कुमार बुढा, र ३७ वर्षका श्यामलाल बोहरा रहेका छन ।
घटना थाहा पाउने बित्तिकै सशस्त्र प्रहरी नायव उपरीक्षक दीपकराज भट्टको नेतृत्वमा विपद् व्यवस्थापन तालिम प्राप्त प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
चारै जनालाई सुरक्षित तरिकाले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल डोल्पामा पठाइएको डिएसपी एवं सह प्रबक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् ।














