काठमाडौं, २७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपको निष्पक्ष छानबिन गर्न पार्टी र सरकारलाई सहयोग गर्ने बताएका छन्।
एक महिलालाई अश्लील गाली गर्दै धम्क्याएको र ब्ल्याकमेलिङ गरेको भनिएको अडियो सार्वजनिक भएपछि सुनारले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
रास्वपाले यसअघि उनलाई औपचारिक कार्यक्रममा सहभागी हुन रोक लगाउँदै घटनाबारे छानबिन अघि बढाएको जनाएको थियो।
सुनारले सार्वजनिक अडियोमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै उक्त सामग्री कृत्रिम बुद्धिमत्ता (एआई) वा आवाजको नक्कल गरेर तयार पारिएको हुन सक्ने आशंका व्यक्त गरेका छन्।
उनले आफूमाथि निष्पक्ष छानबिन गर्न आग्रह गर्दै आरोप प्रमाणित भए कानुनअनुसारको सजाय भोग्न तयार रहेको बताएका छन्।
बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद सुनारले आफूले कुनै अपराध नगरेको दाबीसमेत गरेका छन्।














